राजस्थानमाथि पञ्जाबको रोमाञ्चक जित, खेर गयो सामसनको शतक

आइपिएल २०२१

458

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० प्रतियोगितामा पञ्जाब किङ्स विजयी भएको छ । सोमबार राति भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

पञ्जाबले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २ सय १७ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको राजस्थानका लागि सञ्जु सामसनले शतक बनाएपछि जित नजिक पुगेको थियो । सामसनले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन । आइपिएल २०२१ मा पहिलो शतक बनाएका सामसनले ६३ बलमा ७ छक्का र १२ चौकासहित १ सय १९ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा सामसनले तेस्रो बलमा छक्का प्रहर गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याए । यस्तै, पाँचौँ बलमा कुनै रन बटुल्न सकेनन् भने अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा आउ हुन पुगे ।

यसैगरी, राजस्थानका रियान पराग र जोस बट्लरले समान २५–२५, शिभम् दुबेले २३ तथा मनन वोहराले १२ रन बनाए ।

यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।

कप्तान लोकेश राहुलले ९१, दीपक हूडाले ६४, क्रिस गेलले ४० रन बनाएपछि पञ्जाबले विशाल योगफल बनाएको थियो ।

समान एक खेलमा जितसहित २ अंक जोडेको दिल्ली शीर्ष स्थानमा छ । कोलकाता दोस्रो, बैंगलोर तेस्रो र पञ्जाब चौथो स्थानमा छ भने बाँकी चार टोलीले अंक जोड्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...