ओलीलाई समर्थन गर्ने कि नयाँ सरकार बनाउने प्रष्ट हुन कांग्रेस र जसपालाई माओवादी केन्द्रको आग्रह

559

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिने बताए ।

“यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिकरुपमा चिठी लेखिसकेका छैनौँ” श्रेष्ठले भने, “सर्वोच्चको फैसलापछि सरकार ७६(२) को सरकार भएकाले हामीलाई अहिलेसम्म समर्थन मागेको पनि छैन । हामीले समर्थन दिएका पनि छैनौँ ।”

“उहाँहरुले ओली सरकारलाई नै समर्थन गर्ने भएपनि ठीक छ । हामी मिलेर नयाँ सरकार बनाउने भएपनि झन् राम्रो । तर उहाँहरु छिटो स्पष्ट हुनु पर्यो ।”
केपी ओली सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुन आग्रह गरे । “सबै राजनीतिक पार्टीलाई आ–आफ्नो कुरा प्रष्टरुपमा ल्याउन अनुरोध गर्दछौँ” उनले भने,“ केपी ओली कै सरकारमा जानु छ भनेपनि गए हुन्छ तर प्रष्टसँग आउनुपर्यो । हाम्रो लाइन प्रष्ट छ हामी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...