काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियूको राष्ट्रिय सम्मेलन आउँदो असोजमा हुने भएको छ ।
शनिबार बसेको अनेरास्ववियूको (क्रान्तिकारी) को केन्द्रीय समितिको विस्तारित बैठकले असोज ८ देखि १० गतेसम्म काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले संगठन विस्तार तथा शुद्धिकरणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार तथा शुद्धिकरणका लागि सातवटै प्रदेशमा कमान्डर ताकिएको छ ।
प्रदेश नम्बर १ मा तिलकराज भण्डारी, प्रदेश नम्बर २ मा दीपक देवकोटा, बागमतीमा उत्तम अधिकारी, गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम छन् ।
फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै माउ पार्टी माओवादी केन्द्रलाई ब्युँताइदिएपछि चैत्र १२ मा अखिल क्रान्तिकारीको पदाधिकारी बैठक बसेको थियो ।
बैठकले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) पुनःस्थापित हुने र नेतृत्व रञ्जित तामाङले गर्ने निर्णय गरेको थियो ।