इंग्ल्यान्ड र भारतबीचको टी–२० श्रृङ्खला २–२को बराबरीमा, पाँचौँ खेल निर्णायक

570

अहमदावाद । इंग्ल्यान्डविरुद्धको चौथो टी–२० प्रतियोगितामा भारतले रोमाञ्चक जित हात पारेको छ । जितसँगै भारत र इंग्ल्यान्डबीचको टी–२० श्रृङ्खला २–२ को बराबरी भएको छ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्यान्डले पुरै ओभर खेल्दै १ सय ७७ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका अलराउण्डर बेन स्ट्रोक्सले ४६, ओपनर ज्यासन रोयले ४०, जोनी बेइस्ट्रोले २५, जोफ्रा आर्चरले १८ तथा डेविड मलानले १४ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

भारतका शार्दुल ठाकुरले ३, हार्दिक पाण्ड्या र राहुल चाहरले समान २–२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेका भारतका लागि पहिलो टी–२० क्रिकेटमा ब्याटिङ गर्ने मौका पाएका सूर्य कुमार यादवले अर्धशतकीय पारी खेले । ३१ बल खेलेका यादवले ३ छक्का र ६ चौकाको मद्धतमा ५७ रनको योगदान दिए ।

यस्तै, श्रेयास आयरले ३७, रिषभ पन्तले ३०, लोकेश राहुलले १४ तथा रोहित शर्माले १२ रन जोडे भने कप्तान विराट कोहली १ रनमा आउट भए ।

जितसँगै भारतले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । निर्णायक खेल शनिबार सोही मैदानमा हुनेछ ।

यसअघि भएको पहिलो र तेस्रो खेलमा इंग्ल्यान्ड समान ८ विकेटले विजयी भएको थियो भने भारतले दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...