छिटोभन्दा छिटो एमालेको बैठक बोलाउन नेपाल समूहका स्थायी कमिटीको माग

480

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टीको बैठक तुरुन्तै बोलाउन माग गरेको छ ।

नेपाल समूहका स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुनःस्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

अध्यक्ष ओलीले बैठक बोलाएर पार्टीलाई गतिशिल बनाउनुपर्ने अन्यथा फेरि तनावपूर्ण हुनसक्नेमा पनि भेलाले सचेत गराएको छ ।

ओली पक्षले विभिन्न ठाउँमा नेपाल पक्षका नेता कार्यकर्तामाथि दुर्व्यवहार गरिरहेको र त्यस्ता क्रियाकलाप तत्कालै रोक्न पनि भेलाले माग गरेको नेता रावलले जानकारी दिए ।

नेकपा एमालेको स्थायी कमिटीमा भने नेपाल पक्षको बहुमत छ । नेपाल पक्षका १२ स्थायी कमिटी सदस्य छन् । नेपाल पक्षमा झलनाथ खनाल र नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र रघुजी पन्त छन् ।

ओलीसँग ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल, विष्णु रिमाल र रघुवीर महासेठ छन् ।

माओवादीसँग एकता भएपछि ओली तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका थिए ।

वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...