बाहुनीडाँडामा पुग्यो दूधकोसीको पानी

144

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा स्थानीयको पहलमा दुधकोसीको पानी गाउँमा निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेत गर्न दूधकोसीको पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्र बहादुर कार्कीले बताए ।

उनकाअनुसार सान्ने दोभानमा २० किलोवाट क्षमताको सोलार प्रयोग गरेर ७ सय २५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुनः त्यहाँबाट तानेर थामडाँडाको दोश्रो पोखरीमा निकालिएको छ ।

खानेपानी स्रोत अभावमा काकाकुल झैँ जीवन निर्वाह गरिरहेका बाहुनीडाँडामा करिब १ हजार ७ सय ९० मिटरमाथि नदीको पानी निकालिएपछि केही राहत मिलेको बताइएको छ ।

गत माघ २९ बाट बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रतिघन्टा चार हजार लिटरका दरले पानी गाउँमा निकाल्ने गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष निरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, बिदुर कार्की, सन्तोष प्रधान लगायतको करिब ४५ लाखको खर्चमा गाउँमा पानी निकालिएको उपभोक्ता समितिले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...