काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। हाल देशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ ।
देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नम्बर २ र बागमतीलगायत देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राति प्रदेश नम्बर १ को मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । बाँकी प्रदेशहरुको मौसम सामान्यतया सफा रहने छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।