प्रचण्ड र माधवको कपाली तमसुकका कारण नेकपा संकटमा पर्‍यो : नेता अधिकारी

232

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले प्रचण्ड र माधव नेपालको कपाली तमसुकका कारण पार्टी संकटमा परेको बताएका छन् । केपी ओलीलाई दुवै पदबाट बर्खास्त गरी एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष बन्ने कपाली तमसुक गरेका कारण पार्टी संकटमा परेको भन्दै नेता अधिकारीले पार्टीलाई विघटनमा लैजाने प्रचण्ड–माधवको षडयन्त्र चिरेर अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

फागुन १५ गते पोखरामा हुने जनसभाको तयारीका लागि बुधबार बागलुङमा आयोजित तयारी भेलामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका गण्डकी प्रदेश सहइन्चार्जसमेत रहेका नेता अधिकारीले वेमौसममा पदका लागि मरिहत्ते गर्नेहरुको षडयन्त्र आम जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिए ।

प्रचण्डले केपी ओलीविरुद्ध ल्याएको राजनीतिक प्रस्ताव नामको आरोप पत्र फिर्ता गरेर अगाडि बढ्न ओलीले राखेको प्रस्तावमा प्रचण्ड सहमत भए पनि माधव नेपाल सहमत नभएका कारण समस्या आएको उनको भनाइ थियो । पार्टी विघटन भएपनि हुन्छ, पद चाहिन्छ भन्ने मानशिकता भएकाहरुको बारेमा जनतालाई यथार्थ जानकारी गराउन आवश्यक रहेको अधिकारीको भनाइ थियो ।

पार्टी र सरकारलाई अन्यौलता, अस्थिरता र अकर्मण्यतामा पुर्याउनेहरुका आरोपहरुको खण्डन र राष्ट्रिय स्वाधिनताको रक्षा, ताजा जनादेश र विकासको निरन्तरताका लागि फागुन १५ गते प्रदेश स्तरीय जनसभाको आयोजना गरिएको भन्दै उनले सभा सफल पार्न सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्न निर्देशन दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको जनसभामा १ लाख ३० हजार जनता पोखरामा उतार्ने गरी अभियान सञ्चालन गरिएको नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपालीले जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट नेता कार्यकर्तालाई सहभागि गराउने उद्देश्यका साथ आयोजित जनसभाका लागि जिल्ला जिल्लामा संयोजन समिति गठन गरी प्रचार अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज मन कुमारी केसी जिसी, केन्द्रीय सदस्यहरु लिला बहादुर थापा र तुलसी अर्याल लगायतले पार्टीको प्रदेश स्तरीय सभा सफल पार्न सबै नेता कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आव्हान गरेका थिए ।

जनसभा सम्पन्न गर्नका लागि बागलुङमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सइन्चार्ज मन कुमारी केसी जिसीको संयोजकत्वमा ६१ सदस्यीय मुल जनपरिचालन कमिटि गठन गरिएको छ ।

बागलुङबाट उक्त कार्यक्रममा ८ हजार जनालाई सहभागि गराउने गरी कार्ययोजना बनाइएको र सोहीअनुसार ९ वटा कलष्टर निर्माण गरी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, जनप्रतिनिधि लगायत जनसंगठनका पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको जिल्ला कार्यालय सदस्य कृष्ण पाठकले जानकारी दिए ।

कार्यक्रम जिल्ला कार्यालय सदस्य पाठकको अध्यक्षता, जिल्ला सचिवालय सदस्य सावित्रा रानाको स्वागत र जिल्ला सदस्य दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...