सावित्रा भण्डारीको उपचारमा एन्फाले सहयोग गर्ने

269

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपिएफ क्लबकी सदस्य सावित्रा भण्डारीको उपाचरमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सामाजिक सञ्जालमार्फत भण्डारीको उपचारमा सहयोग गर्ने जानकारी गराएका हुन् ।

अध्यक्ष शेर्पाले लेखेका छन्, “नेपाली महिला राष्ट्रिय टिमका अत्यन्तै उत्कृष्ट खेलाडी सावित्रा भण्डारीको जारी लिगमा भएको घाइतेले नेपाली राष्ट्रिय टिमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वास्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शीध्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।”

भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् । उनको खुट्टामा चोट लागेको थियो ।

उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...