काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतकाअनुसार गाउँकै युवक पक्राउ परेका छन् । पक्राउ परेका युवक भागरथीकै विद्यालयकै छात्र हुन् ।
पक्राउ परेका युवकले अपराध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । रिसइवीका कारण उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिए ।
गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहेका छन् ।