‘कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशीको पुरस्कार

139

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चस्मा २०७३, अघोरी २०७५ गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन् ।

राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् । कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ ।

जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...