बालकृष्ण समको ११९ औँ जन्मजयन्ती मनाइयो

249

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९औँ जन्मजयन्ती मनाइएको छ । काठमाडौंको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी उनीप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्नुका साथै सोही दिन साँझ भर्चुअल विचार–गोष्ठीको आयोजना गरी मनाइएको हो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘बालकृष्ण समका नाटकमा देशप्रेम’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका कविता, काव्य, नाटक लगायतका विविध विधामा आफ्ना कालजयी कृतिहरू दिएर नेपाली वाङ्मयलाई विशिष्ट साधक बालकृष्ण समले उल्लेखनीय योगदान दिएको बताए ।

नेपाली शिक्षा परिषद्सँग विगत केही वर्षअघिदेखि संयुक्तरूपमा बालकृष्ण सम जन्मजयन्ती मनाउँदै आएको उल्लेख गर्दै कुलपतिले यस वर्ष विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण भर्चुअल माध्यमबाट गोष्ठी आयोजना गरिएको सुनाए । उनले भने, “समका कृतिमा जीवन, जगत्, प्रकृति, धर्म, संस्कृति, दर्शन, चिन्तन, देशप्रेम र समाज लगायतका विभिन्न विषय जोडिएका पाइन्छन् । यसपटकको विचार–गोष्ठीको विषयचाहिँ हामीले देशप्रेमलाई रोजेका थियौँ । गोष्ठीपत्र प्रस्तोता प्राडा. देवीप्रसाद सुवेदीको प्रस्तुतिबाट हाम्रो रोजाई सार्थक भएको मैले ठानेको छु ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले कार्यक्रमको विषयमाथि प्रकाश पार्दै बालकृष्ण समले नेपाली वाङ्मयका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको चर्चा गरे । उनले भने, “समलाई नाट्य सम्राट भनेर सम्मान व्यक्त गरिए पनि उहाँका कविता, काव्य जीन, जगत्, दर्शन सबैका हिसाबले उत्कृष्ट छन् । कालजयी छन् । नेपाली वाङ्मयका सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको पाइन्छ ।”

गोष्ठीमा प्राडा. देवीप्रसाद सुवेदीले ‘बालकृष्ण समका नाटकमा देशप्रेम’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्र प्रस्तुत गर्दै प्राडा. सुवेदीले समका नाटकमा देशभक्ति र देशप्रेमको भावना सघन रूपमा प्रकट भएको जिकिर गरे ।

भर्चुअल गोष्ठीका सभाध्यक्ष नेपाली शिक्षा परिषद्की कार्यवाहक अध्यक्ष प्राज्ञ रमा शर्माले समले आफूलाई आफ्ना नाटकमा अभिनय गराएको स्मरण गर्दै बालकृष्ण सम नेपाली वाङ्मयका अमर साधक भएको बताइन् । कार्यक्रममा शिक्षा परिषद्का सदस्य प्रल्हाद पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गरेको कार्यक्रमको प्रविधि संयोजन उपप्रमुख विश्वास घिमिरे र सहसंयोजन योजना तथा कार्यक्रम महाशाखाका रञ्जन घिमिरेले गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...