आजदेखि उपत्यकाको थप २ स्थानमा ट्राफिक लाइट सञ्चालन

236

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजदेखि कृष्णपाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ ।

महाशाखाले कृष्णपाउरोटी चोकमा प्राइम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राइम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घारटन गरिन् भने गैह्रीधाराको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र बैंकका सिइओ जनक शर्मा पौडेलले गरे ।

ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित उक्त उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए । “हामी ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लग्ने प्रयासरत छौँ, यसको लागि सडक विभागबाहेक स्थानीय निकाय, विभिन्न बैंक वित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौँ ।” आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको बताए ।

कार्यक्रममा बोल्दै प्राइम बैंकका एसिसटेन्ट जेनरल मेनेजर प्रधानले बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई लाइटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताइन् ।

सनराइज बैंकका सिइओ पौडेलले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा महत्वपुर्ण रोल खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाइट जडानको लागी समन्वय एवं सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...