छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

205

विराटनगर । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाँउपालिका-५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किँदा घाइते भएका टेम्पो चालक स्थानीय २६ वर्षीय हेमराज राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-२ मा को ११ प ९९५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकलमा सवार रहेका सप्तरी कञ्चनरुप नगरपालिका-११ का ३० वर्षीय रञ्जित सरदारको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तीनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...