सगरमाथा आरोही दानुरी शेर्पालाई सञ्चारमन्त्री गुरुङबाट श्रद्धाञ्जली

243

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधि स्थलमा शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्यष्टि गरिएको हो ।

दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए ।

पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन् ।

Share This:
सम्बन्धित खबर
Loading...