यस्ता स्वास्थ्य समस्या भएकाले ‘कोभिशिल्ड’ प्रयोग गर्नु हुँदैन

111

काडमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न विभिन्न राष्ट्रहरुले खोप उत्पादन तथा विकास गरिरहेका छन् । छिमेकी राष्ट्र भारतले पनि कोभिड–१९ विरुद्ध प्रयोग हुने दुईवटा खोपको उत्पादन तथा विकास गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोपलाई भारतको सेरम इन्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को खोप भारतमै बनेको हो । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिशिल्ड’ खोप उत्पादन गरिरहेको छ ।

सिरम कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ नेपाललाई पनि १० लाख डोज उपलब्ध गराएको छ । कोभिशिल्ड कोरोनाविरुद्ध भएपनि यो औषधिको प्रयोग कुन अवस्था प्रयोग गर्ने वा नगर्ने भनेर कम्पनीले सावधान गराएको छ । कम्पनीकाअनुसार विभिन्न स्वास्थ्य समस्या देखिएको अवस्थामा कोभिशिल्ड प्रयोग गर्नु हुँदैन ।

कोभिशिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन भनेको छ ।

कोभिशिल्ड पहिलो चरणअन्तर्गत बिहीबार नेपाल ल्याइएको छ । भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको हो । कम्पनीले खोप उत्पादनमा प्रयोग गरिएको कुनै पनि प्रकारको गम्भीर एलर्जी छ भने पनि खोप नलगाउन भनेको छ ।

कम्पनीद्वारा जारी फ्याक्टसिटमा कोभिशिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन भनेको छ ।

कम्पनीको वेबसाइटमा जारी फ्याक्टसिटमा भनिएको छ, ‘यदि तपाईलाई कुनै किसिमको औषधि, खाद्य पदार्थ, कुनै खोप वा कोभिशिल्डमा समावेश गरिएका सामग्रीबाट गम्भीर एलर्जी भएको, ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहको भए वा रोग प्रतिरक्षा शक्ति कमजोर भएको वा औषधि लिइरहनुभएको छ भने खोप नलगाउनुहोला ।’

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ । कोभिड–१९ अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिशिल्ड नलगाउन सिरम इन्स्टिच्युटले अनुरोध गरेको छ ।

खोप लगाउनुअघि आफ्नो स्वास्थ्य स्थितिबारे चिकित्सकसँग सल्लाह लिन कम्पनीले सुझाव दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...