सहयोगको गुन राम्रा-राम्रा गीत प्रस्तुत गरेर तिर्नेछु : नेपाल स्टार फाइनलिष्ट गुरुङ

248

पोखरा । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई-वाई पहिलो नेपाल स्टारको फाइनलिष्ट पोखरेली चेली एलिनाको पोखरामा सांगितिक कार्यक्रम अर्थात कन्सर्ट भएको छ ।

नेपाल स्टारको फाइनल प्रवेश पश्चात गृहनगर पोखरा आएकी एलिना गुरुङको स्वागत, सम्मानका साथै उपाधि जिताउनका लागि एलिना गुरुङ जिताऔँ सहयोग समितिले मंगलवार पोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगितीक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

पहिलो नेपाल स्टार फाइनलिस्ट एलिना गुरुङको सांगीतिक कार्यक्रममा एलिना सम्बद्ध पोखराको मुग्लान रेष्टुरेण्ट ब्याण्ड, हार्मोनी समूहका उषा गुरुङ, प्रिया गुरुङ, देवी गुरुङ, जेनिषा तामाङ, प्रकृति श्रेष्ठ, जोजिजु म्युजिक सेन्टरका विनित जोजिजु, गायक सन्तोष बस्याल, नवीन गुरुङ, लोक गायिका ज्योति लोहनी गुरुङलगायतले विभिन्न गायन प्रस्तुति गर्दै साथ दिएका थिए भने नृत्यतर्फ हिमाली सांस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, ताङतिङ दुधपोखरी तमु समाज, भुजुङ युम्पो समाजका कलाकारहरु लगायतको साथ थियो ।

कार्यक्रममा एलिनाले तृष्णा गुरुङको गाइने ए दाजैले… र सुकमित गुरुङको स्वरमा रहेको रेलिमाई रेलिमाई गीत प्रस्तुति गरेकी थिइन् । गायन प्रस्तुति राख्दै एलिनाले आफूलाई नेपाल स्टारको फाइनलमा पुर्याउन सहयोग गर्ने समिति र सहयोगीहरुलाई हार्दिक धन्यवाद दिइन ।

पहिलो नेपाल स्टारको उपाधि दिलाउन आफूलाई फाइनलमा विगतमा भन्दा पनि अधिक भोट, साथ सहयोगको अनुरोध गरिन् । उनले आफ्नो जित समग्र देश विदेशका शुभेच्छुक, शुभचिन्तक, सहयोगीका साथै समग्र पोखरेलीको जित हुने दाबी गरिन् । सबैको साथ सहयोग र मायाले आफूलाई पहिलो नेपाल स्टारको विजेता बन्ने विश्वास व्यक्त गर्दै अहिलेको सहयोग गुन राम्रा-राम्रा गीत प्रस्तुत गरेर तिर्ने बताइन् । सहयोगी सबैलाई गर्व दिलाउने उनको भनाइ थियो ।

कार्यक्रममा एलिना गुरुङ जिताउ अभियान समितिका संयोजक मेनकाजी गुरुङले एलिना गुरुङले नेपाल स्टारको उत्कृष्ट ११ मा पुगेपछि मात्रै हामीले समिति गठन गरी अघि बढ्दा समितिको सपना साकार हुँदै गएको बताए । एलिनाले उपाधि जिती सकिन अब घोषणा हुन मात्र बाँकी रहेको उनको उद्घोष थियो ।

Share This:
सम्बन्धित खबर
Loading...