कृषकबाट २० लाख बढी ठगी गरेको ओरोपमा ३ जना पक्राउ

214

खाँदबारी । चैनपुर नगरपालिका ३ र ४ का कृषकसँग २० लाख १० हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पोखरी ग्रुप अफ कम्पनी प्रालि स्थापना गरी ठगी गरेका मिलन राई र चन्द्र बहादुर आलेमगरलाई चैनपुरबाट पक्राउ गरिएको हो । नरेन्द्र थापालाई इलाका प्रहरी कार्यालय चैनपुरले नेपालगञ्जबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । उनीहरुले कृषकसँग उन्नत जातको गाईपालन गर्ने भन्दै ४ लाख १० हजार ठगी गरेको प्रहरीको भनाइ छ । त्यस्तै, दुग्ध चिस्यान तथा डेरी संचालन गर्न १४ लाख ४५ हजार र कम्पनीको सेयर सदस्यता बापत १ लाख ५५ हजार कृषकसँग उठाएर फरार भएका थिए ।

प्रहरीकाअनुसार उनीहरुले साउदी अरबको एक कम्पनीबाट ५० प्रतिशत अनुदान कृषकलाई मिलाएको र कृषकले ५० प्रतिशत व्याहोरेपछि भारतको पञ्जाबबाट उन्नतजातको गाई १ लाखमा ल्याएर कृषकलाई दिने भन्दै ठगी गरेका थिए । उनीहरुले वडामा मिनरल वाटरको फ्याक्ट्री खोल्ने, दूग्ध चिस्यान केन्द्र बनाउने बहानामा ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

स्थानीयलाई विश्वासमा पार्नका लागि सामान्य रुपमा भैतिक पूर्वाधारसमेत स्थापना गरी स्थानीयहरुलाई नाफामुखी कम्पनीको प्रलोभन देखाइ कृषक तथा स्थानीयहरुलाई पोखरी ग्रुप अफ कम्पनी प्रालिको सेयर बिक्री गरी नक्कली सेयर प्रमाणपत्रसमेत वितरण गरेका थिए । कम्पनी आधिकारीक देखाउन कम्पनी दर्ता नम्बर नक्कली राखी विभिन्न प्रकारका होडिङबोर्ड, लेटरप्याड, छापसमेत बनाइ ठगी गरेको प्रहरीले बताएको छ ।

चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरीमा जिल्ला धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३३ को मुख्य योजनाकार रमेश भन्ने नरेन्द्र थापा, चैनपुर नगरपालिका ३ बस्ने वर्ष को ५६ चन्द्र बहादुर आले मगर र सोहि नपा वडा नम्बर ४ बस्ने वर्ष ३६ को मिलन भन्ने सुरेन्द्र राई समेत भइ पोखरी ग्रुप अफ कम्पनी प्राली नामको नक्कली कम्पनी स्थापना गरी तीनैजना सञ्चालक भइ राष्ट्रिय वाणिज्य बैंक चैनपुरमा संयुक्त खाता खोलेर कर्मचारीसमेत नियुक्त गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठगी गर्ने गिरोह पक्राउ गरेपछि स्थानीय खुसी भएका छन् ।

श्राेत : रेडियाे सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...