सङ्खुवासभामा चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

153

खाँदबारी । जिल्ला प्रहरी कार्यालयले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरि विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेमा चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम ४ थान, हतियार तथा कम्ब्याटसहितको फोटो ६, ५ वटा मोबाइलसहित ११ वटा सिम सार्वजजिक गरेको हो । त्यस्तै, टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्धा फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा प्रहरीले २ राउण्ड र सशस्त्रले १५ राउण्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले ६ राउण्ड गोली चलाएको प्रहरीको दाबी छ । मैदाने क्षेत्रमा ३६ जना प्रहरी र १० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जंगलतिर भागेका चन्द समूहका कार्यकताको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यसअघि मंसिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...