चर्को आवाज निकाल्ने ३ सय ४२ वटा मोटरसाइकल चालकलाई कारबाही

मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ

224

काठमाण्डौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यो अवधिमा चर्को आवाज निकाल्ने ३ सय ४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्त्याउनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरीत भएकोले कारबाही गरेको हो ।

यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाइकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...