भारतमा १३६ दिनपछि सक्रिय संक्रमित अहिले सबैभन्दा कम
नयाँदिल्ली, एएनआई । भारतका कोरोना भाइरसबाट संक्रमित भएर संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुँदै गएको छ ।
पछिल्लो १ सय ३६ दिनपछि शनिबार संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
भारतमा शनिबार चार लाख नौ हजार ६ सय ८९ जना संक्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पछिल्लो १ सय ३६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयको भनाइ छ ।
“सक्रिय संक्रमितहरुको सङ्ख्या यो १ सय ३६ पछिको सबैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,” मन्त्रालयले भनेको छ ।
मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ ।
अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल संक्रमितको ४.२६ प्रतिशत मात्रै भएको मन्त्रालयको तथ्याङ्क छ ।
भारतमा पछिल्लो २४ घन्टामा ३६ हजार ६ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा कूल ४२ हजार ५ सय ३३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको विवरण छ ।
दुवै तथ्याङ्क हेर्दा थपिएका संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोना भाइरसको महामारी कम हुँदै गएको देखिएको छ ।
संक्रमणमुक्त भएकाहरुको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कूल ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भइसकेका छन् ।