नयाँदिल्ली, एएनआई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ ।
प्रधानमन्त्री मोदीले भने, “हामीलाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको सुरुवात गर्दैछौँ ।” प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराएको बताइएको छ ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।
यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, वृद्धवृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिए । प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताए ।
यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताए ।
भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए ।