जापानमा बसोबास गर्ने सबैले कोरोनाको खोप निःशुल्क पाउने

147

टोकियो, एएफपी । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

दैनिक रुपमा कोरोना भाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।

सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।

जापानका प्रधानमन्त्रीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

तुलनात्मक रुपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १ सय जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।

त्यसैगरी जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागू गरेको देखिएको छैन । तर पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो । संक्रमितहरु भेटिने क्रम चलिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...