भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पुरा

135

नयाँदिल्ली, एएनआई । भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ ।

सरकारले ल्याएको कृषि सम्बन्धि तीन ओटा कानूनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् ।

संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानूनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन् ।

उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा सुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो ।

आन्दोलन चर्किँदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राति भएको वार्ता पनि विना निष्कर्ष सकिएको छ ।

मंगलबार रातिको वार्तामा सरकारी पक्षले मागहरुको सम्बोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् ।

आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किँने र लम्बिने संभावना देखिएको छ ।

वार्ता सकारात्मक नभएपछि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिए ।

उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि (बिहीबार) फेरि गर्ने तय भएको पनि उनले जानकारी दिए ।

“हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ, हामीलाई त्यसमा पनि समस्या छैन,” मन्त्री तोमरले भने ।

सरकारले किसान र उपभोक्ताकै हितका लागि कानून ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानूनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...