उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

193

वासिङ्टन, योनहाप । उत्तर कोरियाली नेता किम जोङ अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।

जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

ह्यारी काजियानियासले लेखेएको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् ।

काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक छन् ।

लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्यौल हुन सकेको छैन ।

उत्तर कोरियामा हालसम्म कोरोना भाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...