भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

142

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ९४ लाख ३१ हजार ६ सय ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९ सय ५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १ सय ३९ पुगेको छ । भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १ सय ७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...