बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : प्रवक्ता श्रेष्ठ

143

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन् । यसअघि मंसिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए ।

पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेको बताए ।

प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उनले बताए । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उनले विश्वास व्यक्त गरे।

यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गरेको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिए ।

उनका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । उनले (अध्यक्ष ओली) लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताए। “पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तर सङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ”, प्रवक्ता श्रेष्ठले भने ।

उनले आजको सचिवालयको बैठकमा बोल्ने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिएको बताए ।

“उहाँहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानुपर्नेमा सोच्नु हुन्न वा सोच्नुपदैन”, उनले भने, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्दछ”, भने ।

उनले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताए । दुवै प्रस्तावमाथि यही मंसिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मंसिर १७ गते पनि गर्ने जानकारी दिए । उनले पार्टीभित्र देखिएका समस्यालाई पार्टी कमिटीका बैठकमा व्यवस्थित र विधिवत ढङ्गले छलफल गरेर निष्कर्ष निकालिनेसमेत बताए ।

नेकपाले यही मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...