काठमाडौं : चन्द्रागिरी हिल्सले मंसिर १७ ब गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्न लागेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ ।
यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् । साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् ।
कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।