पाल्पामा धान उत्पादनमा वृद्धि

124

रामपुर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८ सय ९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिए । जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २ सय २३ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष कूल जग्गाको ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो भने यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यहाँ ३३ हजार ८ सय ९६ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

धान उत्पादन बढेपछि पाल्पाका किसान उत्साहित भएका छन् । समयमा नै पानी परेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको किसान भगवती पाण्डेय बताउँछिन्। “धान रोपेपछि हरियो हुन नपाउँदै खेत धाँजा फाटेर हैरान हुन्थ्यो, यस पटक रोप्न पनि सजिलो भयो र सिंचाइका लागि पानी प्रशस्त पुग्यो”, उनले भनिन् । अघिल्ला वर्षमा धान रोपेर सिँचाइ गर्न नपाउँदा निकै समस्या भोगेका किसानलाई यो वर्ष उत्पादन बढेपछि खुशी भएका छन् । खेतमा सिंचाइ गर्ने समयमा पानी परेपछि सजिलोसँग धान स्याहार्न पाएको किसान सीता भुसालले बताइन् ।

हाइब्रिड, उन्नत् जातको धान, समयमा नै वर्षा पर्नु, आधुनिक प्रविधिको प्रयोग र यसवर्ष कोभिड–१९ कारण युवा जनशक्ति गाउँमै रहेकाले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । जिल्लाको रामपुर, माडीफाँट, दोभान, अर्गली, हुँगीलगायत क्षेत्र धान उत्पादनको पकेटक्षेत्र छ । किसानले हाइब्रिड, सावित्री, गोरखनाथ, युएस ३१२ लगायत धान लगाएका छन् । यसवर्ष समयमा वर्षा परेकाले टारीखेतमा पनि धानको उत्पादन राम्रो भएको छ ।

आव २०७१/७२ मा ३० हजार २ सय ६५ मेट्रिक टन, २०७२/७३ मा ३३ हजार ८ सय ९६ मेट्रिक टन, २०७३/७४ मा ३५ हजार ८२ मेट्रिक टन, आव २०७४/७५ मा ३६ हजार ४ सय ८५ मेट्रिक टन उत्पादन भएको छ । पछिल्ला वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धान यसवर्ष वृद्धि भएको पाइएको छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ ।

जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । समथर भूमिमा घर–घडेरी धमाधम बन्ने क्रम भएकाले उत्पादन क्षेत्र कम हुन थालेको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...