बाइडेन प्रशासन : अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

267

वासिङ्टन, एपी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उपविदेशमन्त्री तथा राष्ट्रिय उपसुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । साथै उनीसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।

ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।

बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहेका दुई व्यक्तिहरु सुशान राइस र सिनेटर क्रिस कून्सका बारेमा भने सिनेटको सुनुवाईमा धेरै जटिलताको सामना गर्नुपर्ने हुनसक्छ ।

राइसका बारेमा सिनेटमा रिपब्लीकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणका बारेमा राइसले दिएको अभिव्यक्तिका बारेमा रिपब्लीकन पार्टीले असन्तोष जनाउँदै आएको छ ।

सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरु र अन्य महत्वपूर्ण पदहरुमा सिनेटमा कडा प्रश्नहरुको सामना गर्नु पर्नेछ, र सुनुवाईमा पनि ढिलाई हुन सक्नेछ । तर जर्जिया राज्यमा आगामी जनवरी ५ मा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ ।

बाइडेनले आफ्नो मन्त्री परिषदमा हुने छनौटमा विशेष रुपमा अहिले ध्यान दिइरहेका छन् । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्य जस्ता पदहरु निकै महत्वपूर्ण हुने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...