संक्रमणबाट कर्णालीमा युवकको मृत्यु

154

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रबार अपराह्न कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् ।

उच्च ज्वरो आएपछि ती युवालाई बुधबार प्रदेश अस्पताल भर्ना गरिएको थियो । पाँच दिनदेखि ज्वरो आएको र स्थानीय क्लिनिकबाट अस्पताल पठाइएको बताइएको छ । “क्रोनिक अल्कोहोलिज्मका साथै विगतमा काँप्ने, बेहोस हुने मेडिकल इतिहास रहेको विवरण प्राप्त भएको छ”, महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनलगत्तै निजलाई निस्सासिने समस्या देखिएको, मुटुले रगत पम्प नगरेको र छाती थिचेर ब्युँताउने प्रयास पनि सफल हुन सकेन ।” उनको मृत्यु भइसकेपछि प्रयोगशालाले कोरोना पुष्टि गरेको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको जानकारी दिए ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ५ सय ७१ पुगेको छ । पछिल्लो चौबिस घन्टामा आडिटी पिसिआर विधिबाट गरिएको परीक्षणमा नयाँ ६५ जनाको कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमित भई आइसोलेसनमा रहेका छ हजार १५ जना कोरोनामुक्त भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...