जोर्जियामा पुनः मत गणना गर्दा पनि जो बाइडेन विजयी

213

वासिङ्टन, एपी । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो ।

बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन् ।

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मत पश्चात बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने २ सय ३२ मत छ ।

अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २ सय ७० मत आवश्यक हुन्छ ।

सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए ।

तर यस वर्षको चुनावमा डेमोक्रेट पार्टीले जोर्जिया राज्यमा निकै बढी ध्यान दिएको थियो ।

जोर्जियाका सिनेटका दुबै पदमा यसपटक चुनाव भएको थियो तर दुबै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदैछ ।

जोर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका हुन् । सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...