बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

235

बैतडी । बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १ सय ५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै १९ हजार ७ सय ६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।

यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष १७ हजार १ सय ९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ ।

दलहन उत्पादनमा कमी
बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ । खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३ सय ६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

गत वर्ष भटमास एक हजार ४ सय ३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३ सय ६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए ।

यस्तै यो वर्ष ३ सय १९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३ सय ५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४ सय १० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताए । उनले भने, “दलहन खेती गर्नका लागि चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...