भारतमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्यामा कमी

142

नयाँदिल्ली, एएनआई । भारतमा कोराना भाइरसबाट संक्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८ सय ७८ जना संक्रमित थपिएका छन् ।

भारतमा योसँगै कुल संक्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७ सय ९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६ सय ६८ जनाको मृत्यु भएको विवरण छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५ सय ४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय संक्रमित अवस्थामै रहेका थिए ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...