काठमाडौं । कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका छसहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयले निकालेको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिचाइँका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा जलस्रोत सचिव मधुसुदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखले गौरवका सबै आयोजनाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
भेरी–बबई र सुनकोशी–मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् । यस्तै उपत्यकाको भूमिगत पानीको स्रोत तथा रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौंका शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्रगतिमा अघि बढेको छ ।
यस्तै तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिंचाइ तथा जस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुङ्गो लगाउने निर्णय गरेको छ ।
सुनकोशी–मरिन डाइभर्सनबाट एक लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिंचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिंचाइ आयोजनाबाट ४२ हजार ७ सय हेक्टर, महाकाली सिंचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ ।
यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोशी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४.७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिंचाइ र विद्युत् उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कूल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
गत वर्षबाट सुरु भएको सुनकोशी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ । यस्तै चालु आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिंचाइ आयोजनाको कूलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।
ती सबै आयोजनाको काममा मन्त्री पुनले प्रत्यक्ष अनुगमन र निर्देशनका साथै समस्या समाधानका लागि संघमा अन्तरमन्त्रालय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित समुदायसँग समन्वयको भूमिका निर्वाह गर्दै आएका छन् । बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिए ।
“समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नुस्, सम्भव भएन भने मलाई भन्नुस्, जस्तोसुकै समस्या भए पनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ”, तर समस्याको बहानामा विकासका काम रोक्ने वा ढिलासुस्ती गर्ने छुट भने कसैलाई नभएको उनको भनाइ थियो । मन्त्री पुनले बजेट र जनशक्तिको अभाव भए तत्काल समस्या समाधान गरिने पनि स्पष्ट गरे । कोरोना महामारीको असहज अवस्थामासमेत आयोजनाका काम लक्ष्यअनुसार अघि बढेकामा विभाग र आयोजना प्रमुखसहित सबैलाई उनले धन्यवाद दिए ।