ताप्लेजुङमा फुसरहित घर निर्माण सुरु

213

फुङ्लिङ । ताप्लेजुङमा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो ।

शहरी विकास तथा निर्माणअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापाले ताप्लेजुङका खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई सुरक्षित छानोमुनी ल्याउन लागेको हो । कार्यक्रमअन्तर्गत जिल्लाको मैवाखोला गाउँपालिका वडा नम्बर ४ साँघुको ओदकमा आयोजनाले लाभग्राही अर्थात् विपन्न ३० परिवारको घरको फुसको छाना हटाइ जस्तापाताले छाइदिएको छ ।

शेर्पा समुदायको मात्र बसोबास रहेको ओदकका विपन्न ३० परिवारको घरमा जास्तापाताले छाना छाउने काम सम्पन्न भएसँगै मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरे । सो अवसरमा उनले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताए । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षातको समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

मैवाखोला गाउँपालिकाको छ वटै वडाका १ सय ७४ घरमा जस्तापाताले छाउने योजना स्वीकृत भएको छ । उक्त सङ्ख्यामध्ये हाल ३० परिवारको घरमा जस्तापाता छाइसकिएको हो भने बाँकी परिवारको घरमा क्रमशः जस्तापाताले छाना छाउने प्रक्रिया रहेको गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले बताए । भवन निर्माण आयोजनाबाट प्रतिपरिवार रु ५० हजारका दरले बजेट निकासा भई विपन्नको घरमा जस्तापाताले छाउने कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८ सय १४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ । मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा १ सय ९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा २ सय ४५, सिरिजङ्घामा १ सय ६७, सिदिङ्वामा २ सय ९०, पाथीभरा याङ्वरकमा २ सय, मेरिङ्देनमा १ सय ८८, आठराई त्रिवेणीमा २ सय १३ र मिक्वाखोला गाउँपालिकामा १ सय ४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...