जलविद्युत् परियोजनाका लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत

116

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५औं बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।

यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए ।

बोर्डको अध्यक्ष ओलीले बैठकमा कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए । उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सिइओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मंगलबार बसेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...