पैयुँ गाउँपालिकामा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन

266

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ । पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो ।गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ । अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

उनले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए । हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामुदायिक भवनमा अस्थायी कोरोना अस्पताल बनाइएको हो । यस्तै हुवासस्थित ज्येष्ठ नागरिक भवनमा १० जना व्यक्ति अट्ने क्वारेन्टिनसमेत बनाइएको पौडेलले जानकारी दिए ।

कोरोना संक्रमितलाई यसअघि कुश्माको आइसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आइसोलेसन र क्वारेन्टिन बनेपछि गाउँपालिकावासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । तिवारीले गाउँमा कोरोना संक्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताए । कोरोनासँग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिए ।

तिवारीले कोरोना संक्रमणका बाबजुद विकास निर्माणका कामहरु पनि धमाधम सुरु गरिएको बताए । नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेटसमेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया सुरु गरिसकेका छन् । जिल्लाको सदरमुकामपछि पहिलोपटक पैँयु अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...