तीनधारामा निर्माणाधीन तामाङ नमूना बस्ती

259

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटिको प्राविधिक सहयोगमा यो वर्ष उक्त एकीकृत बस्ती निर्माणको काम अघि बढाइएको नमूना बस्तीका परिकल्पनाकार स्थानीय अगुवा रामबहादुर तामाङले बताए । उनका अनुसार हाल आठ घरको गारो लगाउने काम सकिएको छ । एक घर निर्माण सम्पन्न गर्नका लागि रु ११ लाख लाग्नेछ । बस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । नगर कार्यालयले रु १० लाख थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिए ।

“घर निर्माणको लागि आवश्यक ब्लक सोही स्थानमा नै निर्माण गरिरहेका छौँ”, तामाङले भने । नमूना बस्तीमा ब्लकको चारकोठे एक तले पक्की घर निर्माण हुनेछ भने घरको छानो जस्ताको हुनेछ । नमूना बस्ती तीनधारामा ३० वटा पक्की घर निर्माण हुनेछ । बस्तीमा स्थानीय तामाङ समुदायका विपन्न भूकम्प पीडित परिवार राखिने तामाङले बताए । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ ।

नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामग्री संग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने तामाङले बताए ।

योजनाअनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ । नगर प्रमुख टोकबहादुर वाइबाले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु भएकोमा खुसी व्यक्त गरे । उनले भने, “जिल्लाकै उत्कृष्ट नमूना बस्तीका रुपमा विकसित गर्दै जानेछौँ ।” उनका अनुसार ३० पर्यटकलाई होम–स्टेमा राख्न सकिनेछ ।

हाल गारो निर्माण सकिएका केही घरमा छानो हाल्ने काम सुरु गरिएको छ । छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक आउने तयारी भइरहेको तामाङले बताए । आउँदो पुस महिनाभित्र नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ । “अपुग बजेटका लागि दाताको खोजी गर्दैछौँ” तामाङले भने । रासस

Share This:
सम्बन्धित खबर
Loading...