फ्रान्समा एकै दिनमा ६० हजार बढी कोरोना संक्रमित थपिए

133

पेरिस, एएनआई । फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४ सय ८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ को महामारी सुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो संक्रमित संख्या भएको बताएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति संक्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् ।

यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८ सय ५३ जना नागरिक संक्रमित हुन पुगेका छन् । यहाँ गएको २४ घन्टामा ८ सय २८ जनाको निधन भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार ८ सय ६५ जना पुगेको छ । यहाँ गत हप्ता मात्र २० हजारभन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

यहाँ कोरोनाका संक्रमितहरु बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरु पनि लगाइएको छ । यसको यहाँका नागरिकले विरोध पनि गरिरहेका छन् । यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ । जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...