राजविराज अस्पतालमा सिटी स्क्यान जडान

310

सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान उकरण जडान गरिएको छ । चारमहिना अघि ल्याइएको सो उपकरण जडान भए पनि बिरामीलाई सेवा दिन अझै दुई साता लाग्ने अस्पतालले जनाएको छ । अस्पतालमा रेडियोग्राफरको दरबन्दी नरहेकोले अस्पतालमा कार्यरत जनशक्तिलाई थप तालिम दिई दक्ष बनाएर सेवा सञ्चालन गरिने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा राणजीतकुमार झाले बताए ।

उपकरण तथा साधनस्रोतको अभाव खेप्दै आएको उक्त अस्पतालमा पहिलो पटक सिटी स्क्यान उपकरण जडान गरिएको हो । जडान गरिएको उपकरण सुविधा सम्पन्न रहेको र दुई साताभित्रै औपचारिक कार्यक्रम आयोजना गरी सेवा शुभारम्भ गरिने तयारी भइरहेको उनले बताए ।

सामान्य एमआरआइभन्दा कम ध्वनी उत्पन्न हुने भएकाले बिरामी डराउने समस्या नरहेको सिटी स्क्यान प्रविधि पूर्ण रुपमा बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालले जनाएको छ । उपकरणको स्लाइस क्षमता जति बढी भयो उति राम्रो र छिटो रिपोर्ट आउने जनाइएको छ । सो उपकरणको अभावमा बिरामीहरु बाहिर रेफर हुने र निजी अस्पतालमा जानु पर्ने बाध्यता थियो । नयाँ उपकरणबाट सेवा सुरु भएपछि बिरामीले अस्पतालभित्रै सेवा पाउने अवस्था आउने छन् । अस्पतालका अनुसार सिटी स्क्यानको सेवा शुल्क समेत निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहने छ ।

सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ । विषेश गरी मतिष्कघात, मतिष्कभित्रको चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपकरण उपयोगी हुने चिकित्सकले जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...