एनआरएनएद्वारा एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

134

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुर्‍याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

एनआरएनएका उपाध्यक्ष डा केसीले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको जनाए । एनआरएनएका कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्दै यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी दिए ।

यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको एनआरएनए कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

एनआरएनएले कोभिड महामारी सुरु भएदेखि रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । संस्थाले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब दुई हजार पाँच सय स्वयंसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो । कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तका अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत गठन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...