अमेरिकी चुनाव : बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

230

वासिङ्टन, एएनआई । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन् ।

कुल ५ सय ३८ इलोक्टोरल मत मध्ये २ सय ७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । बाइडेनले अहिलेसम्म २ सय ६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ ।

पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिश्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २ सय १४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकोले उनले जित्ने संभावना न्यून देखिएको छ । उनी दुई ठाउँमा मात्रै अगाडि देखिएका छन् ।

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो ।

अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकाले समेत उनको जितको संभावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सिल्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि देखिएका छन् ।

बाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेदबारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि सुरु भएको मतदान राति अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना सुरु भएको थियो ।

त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सवै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ ।

अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फतलाखौ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...