मन्त्री कार्की कोरोनामुक्त, विराटनगरमा पाँचको मुत्यु

293

मोरङ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना संक्रमणमुक्त भइ बिहीबारदेखि नियमित काममा फर्किएका छन् ।

मन्त्री कार्कीलाई कोरोना संक्रमण देखिएको १४ दिन पूरा भएकाले बिहीबारबाट होम आइसोलेसबाट बाहिर आएको उनका निजीसचिव रवी खनालले बताए । दुई सातापछि पुनः परीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्किएका हुन् ।

सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते संक्रमण देखिएको थियो

विराटनगरमा पाँचको मुत्यु
यसैबीच विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइसोलनका रहेका छन् ।

सुनसरी इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा बिहीबार अपरान्ह मुत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो ।

सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको बिहीबार आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको बिहीबार अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए ।

विराटनगर–११स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए । विराटनगर–८ का ७० वर्षीयसंक्रमित पुरुषको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...