अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

294

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।

मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २ सय ७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २ सय ६४ इलेक्टोरल मत प्राप्त गरेका छन् र उनी विजयको नजिक छन् ।

बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् ।

उनले भने, “म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।”

राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए ।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ ।

निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...