काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा बिहीबार आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् ।
सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नु भयो । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको छ ।
यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औं सेनापति हुन् ।