चीनले अष्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने : प्रतिवेदन

230

बेइजिङ, एएनआई । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अष्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अष्ट्रेलियाबाट वर्षेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ ।

आगामी शुक्रबारदेखि नै चीनले अष्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन ।

चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अष्ट्रेलिया प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाइका साथ लागू गर्न आदेश दिएका छन् ।

अष्ट्रेलियाले गत अप्रिलमा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अष्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

त्यसयता चीनले अष्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धिका साथै अन्य कारबाही गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अष्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...