गुल्मीको अमरपुरमा अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण हुँदै

367

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटबल रंगशालाको निर्माण सुरु भएको छ ।

गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रंगशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रंगशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने र दुबो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्‍मार्फत रंगशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा उपभोक्तामार्फत रु १८ लाख र आव २०७५/७६ मा रु दुई करोड ८० लाख खर्च भएको छ ।

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । खेल मैदानमा रोपिएको दुबोलाई सिचाइँको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कूल १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । सो रंगशालालाई मदन भण्डारी राजमार्गले छोएको छ ।

रंगशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको बस्तुस्थित विचित्र गुफा छन् । गाउँमै अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन् । “रंगशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्”, स्थानीयवासी बोमलाल भण्डारीले भने, “सकेसम्म छिटै निर्माण सम्पन्न भए हुन्थ्यो ।”

Share This:
सम्बन्धित खबर
Loading...