ललितपुरका छ हजार बढी संक्रमित निकाे भइ फर्किए : ७९ जनाको मृत्यु

203

ललितपुर । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३ सय १६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड संक्रमित सङ्ख्या आठ हजार ८ सय १० पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४ सय १५ पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८ सय ६१ र मृतकको सङ्ख्या ३५ पुगेको र्‍यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताइन् । उनले भनिन्, “महानगरपालिकामा हालसम्म कूल कोरोना संक्रमित सङ्ख्या पाँच हजार ४ सय ४२ पुगेको छ भने सक्रिय संक्रमित सङ्ख्या एक हजार ५ सय ४६ पुगेको छ ।” महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८ सय १ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए । उनले भने, “यहाँ अहिलेसम्म कूल कोरोना संक्रमित सङ्ख्या एक हजार १ सय ५४ र सक्रिय संक्रमित सङ्ख्या ३ सय ४७ पुगिसकेको छ ।”

गोदावरीमा मंगलबार बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४ सय ३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड संक्रमित सङ्ख्या ६ सय ३१ र सक्रिय संक्रमित सङ्ख्या १ सय ८९ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीको वडा नम्बर ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी १ सय १६ जना सबैभन्दा बढी संक्रमित रहेको वडा हो भने वडा नम्बर ७ देवीचौर हालसम्म एक जना व्यक्ति मात्र संक्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताए । उनले भने, “गोदावरी ठेगाना भएका तीन पुरुष र एक महिला गरी चार जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन ।”

अर्कोतर्फ दक्षिण ललितपुरका बागमती, महाँकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना संक्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ । महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर बागमती वडा नम्बर ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “यहाँ डिस्चार्ज हुनेको सङ्ख्या १५, होम आइसोलेसनमा सात र गाउँपालिकामा कूल कोभिड संक्रमित सङ्ख्या २२ पुगेको छ ।” गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक ट्रेसिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैन । मलाई यो रोग लागैकै हैन’ भन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उनीहरूबाट झन जोखिम बढ्ने पो हो कि भन्ने डर रहेको तिमिल्सिनाले जानकारी गराए ।

महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिय संक्रमित एक र कूल कोरोना संक्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय संक्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड संक्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महताेले बताए । उनले भने, “गाउँपालिका–३ दलचोकी निवासी एकै घरका चार परिवारमा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजा आएपछि मंगलबार तेस्रो पटक हामीले उनीहरुको स्वाब सङ्कलन गरेर गोदावरी नगरपालिका–६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा परीक्षणका लागि लाँदै छाैँ ।” रासस

Share This:
सम्बन्धित खबर
Loading...