होटल व्यवसाय छाडेर श्रेष्ठ तीतेपाती खेतीमा

439

खाँदबारी । सङ्खुवासभा खाँदबारी नगरपालिका–१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित भएका छन् । ‘तीतेपाती रोपौँ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका उनले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती सुरु गर्न थालेको जानकारी दिए ।

काठमाडौंस्थित यमासो प्रालिमा व्यावसायिक खेतीको तालिम लिएका मिनेषले ‘मिनेष तीतेपाती तथा जडीबुटी उद्योग’ नामक फर्मदर्ता गरी रू १८ हजारको बिरुवा लगाएका थिए ।

अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया र भल्गरिस जातका तीतेपाती लगाइएको र भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५ हजार तिर्दै आएको उनले जानकारी दिए । बारीबाटै प्रतिगोटा रू एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने र प्रतिकेजी रू ५० का दरले सुकेको तीतेपाती यमासो कम्पनीमै पठाउने गरेको बताए । उक्त कम्पनीले वर्षको १० टन तीतेपाती माग गरिरहे पनि मागअनुसारको आपूर्ति गर्न नसकेको उनले जानकारी दिए ।

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन् । तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगको उपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ।

उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उनले रू ३० हजार र डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए । रासस

Share This:
सम्बन्धित खबर
Loading...